१.५ जिल्ला सभा र जिल्ला समन्वय समिति

४२. जिल्ला सभाको व्यवस्थाको औचित्यः नेपालको संविधानको धारा २२० को उपधारा (१) बमोजिम जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाहरूबीच समन्वय गर्न एक जिल्ला सभा रहनेछ भन्ने व्यवस्था छ । साथै जिल्ला समन्वय समितिको निर्वाचन गर्ने प्रयोजनका लागि जिल्ला सभाको व्यवस्था गरिएको देखिन्छ ।

४३. जिल्ला सभाको गठन प्रक्रिया: नेपालको संविधानको धारा २२० को उपधारा (२) बमोजिम जिल्ला सभामा जिल्ला भित्रका गाउँ कार्यपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगर कार्यपालिका प्रमुख र उपप्रमुख सदस्य रहन्छन् ।

४४. जिल्ला सभाको पहिलो बैठकः नेपालको संविधानको धारा २२० को उपधारा (२) बमोजिम गाउँ सभा र नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले तीस दिन भित्र जिल्ला सभाको पहिलो बैठक बस्छ ।

४५. जिल्ला सभाको काम, कर्तव्य र अधिकारः नेपालको संविधानको धारा २२० को उपधारा (७) बमोजिम जिल्ला सभाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम छन्ः

क) जिल्लाभित्रका गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने ।

ख) विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सो को अनुगमन गर्ने ।

ग) जिल्लामा रहने सङ्घीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने ।

घ) प्रदेश कानून बमोजिमका अन्य कार्यहरू गर्ने ।

४६. जिल्ला सभाको सञ्चालन र जिल्ला समन्वय समितिका सदस्यको सुविधाः नेपालको संविधानको धारा २२० को उपधारा (८) बमोजिम जिल्ला सभाको सञ्चालन, जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा तथा जिल्ला सभा सम्बन्धी अन्य व्यवस्था प्रदेश कानून बमोजिम हुनेछ ।

४७. जिल्ला समन्वय समितिको गठन प्रक्रिया : नेपालको संविधानको धारा २२० को उपधारा (३) बमोजिम जिल्ला सभाले एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तीमा तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसङ्ख्यक सहित बढीमा नौ जना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्नेछ । जिल्ला समन्वय समितिले जिल्ला सभाको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य सम्पादन गर्नेछ ।